२४ वर्षीय सुरजले दस हजारमा सुरू गरेको कपडा ब्रान्ड ‘फाइब्रो’

झन्डै दुई वर्षदेखि नेपाली कपडा ब्रान्ड ‘फाइब्रो’ ले बजारमा बेग्लै पहिचान बनाएको छ। ल्याटिन भाषामा ‘फाइब्रे’ भन्नाले कपडा बुझिन्छ। यही नाम अलिकति मोडेर सुरजराज पाण्डेले २०७५ को मध्यतिर फाइब्रो ब्रान्ड सुरू गरेका हुन्। स्थापनादेखि नै यसले शरीरको माथिल्लो भागमा लगाइने कपडा उत्पादन गर्दै आएको छ। 

‘धेरैले फाइब्रो भनेको ज्याकेटको ब्रान्ड मात्र हो भन्ने सोच्छन्। तर हामी अरू कपडा पनि बनाउँछौं,’ फाइब्रोका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सुरजले भने। 

फाइब्रोमा मौसमअनुसार विभिन्न डिजाइनमा ज्याकेट, टि-सर्ट, डाउन ज्याकेट, हाफ ज्याकेट, पोलो टि-सर्ट र सर्टहरू उत्पादन हुँदैछ। मौसमअनुसारै कपडाको बिक्री सन्तोषजनक भइरहेको सुरज बताउँछन्। 

उनका अनुसार फाइब्रोको मुख्य उद्देश्य यसलाई नेपालको पहिलो ‘टेक-इनेबल फेसन एन्ड अपेरल ब्रान्ड’ बनाउनु हो। यो भनेको कम्पनीको उत्पादनदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा आर्टिफिसिअल इन्टेलिजेन्स (एआइ) र नयाँ प्रविधिको प्रयोगमा हुनेछ।

फाइब्रोको यात्रा सुरजको बंगलादेश भ्रमणबाट सुरू भएको हो।

२०७५ साउनतिर सुरज ‘नेपाल-बंगलादेश युवा सम्मेलन’ मा भाग लिन गएका थिए। उनीसँगै मिस अर्थ नेपाल-२०१८ प्रिया सिग्देल र बंगलादेशका अहमद फहिम पनि थिए। बंगलादेश र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक लगायत विभिन्न क्षेत्रबारे आपसमा बुझ्न सम्मेलनमा झन्डै २४ जना प्रतिनिधि थिए। 

‘दुई देशका युवाबीच कसरी नयाँ जानकारी र अवसर आदानप्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ सुरजले कार्यक्रमबारे संक्षिप्त भने।

कार्यक्रम सकेर अहमदले ढाकास्थित कपडा कारखाना घुमाउने भए। अहमदको पारिवारिक पृष्ठभूमि कपडा व्यवसाय रहेछ। उनले उपस्थित प्रतिनिधिहरूलाई कारखाना घुमाए। पूरै कारखाना घुम्न झन्डै एक दिन लागेको सुरज सम्झन्छन्।

‘बंगलादेश पुग्नुअघि मलाई कपडा व्यवसायमा कुनै रूचि थिएन,’ उनी भन्छन्, ‘कारखाना घुमेपछि यो राम्रो व्यावसायिक क्षेत्र रहेछ भन्ने बुझेँ।’ 

कार्यक्रम सकेर जब सुरज फर्के, यहाँ कपडा व्यवसायबारे अध्ययन गर्न थाले। दशकअघि बजारमा चल्तीका ब्रान्डहरू सञ्चालन भएको थाहा पाए। त्यसपछि उनले कपडा व्यवसायलाई थोरै लगानीमै राम्रो बजार विस्तार गर्न सकिने क्षेत्रका रूपमा लिए। 

‘हामीसँग कुनै पनि व्यवसायलाई चाहिने स्रोत र साधन भए पनि निश्चित अठोट नहुने पाएँ,’ सुरज आफूले गरेको बजार अध्ययनको निष्कर्ष भन्छन्। 

बजार बुझेपछि सुरजले नेपालमै कपडा उत्पादन गरी यहीँको बजारलाई लक्षित गर्ने योजना बनाए। सूचना-प्रविधिका विद्यार्थी सुरजलाई यसअघि आफ्नो ज्ञान कपडा व्यवसायमा उपयोग होला भन्ने लागेको थिएन।

फाइब्रो सुरू गर्दा सुरज स्नातक दोस्रो वर्षमा थिए। उनले हालै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयअन्तर्गतको इस्लिङ्टन कलेजबाट सूचना-प्रविधिमा स्नातक सकेका हुन्। 

व्यवसाय सुरू गर्ने भएपछि परिवार र साथीभाइसँग सल्लाह मागे। सानैदेखि हरेक कुरामा परिवारको समर्थन पाएका सुरजलाई यसमा पनि नमिल्ने कुरै भएन। अनि जम्मा दस हजार रूपैयाँ लगानीमा उनले सुरू गरे, फाइब्रो। 

त्यो बेला सुरज कपडा बनाउन कच्चा सामग्री लिएर साथीका बुवाको कारखाना पुगेका थिए। विस्तारै उनले व्यवसाय बढाए। कम लगानीमा व्यवसाय सुरू गरेका सुरज भन्छन्, ‘कुनै पनि व्यवसाय सुरू गर्न लगानीले रोक्दैन। विस्तारका लागि मात्र लगानीले भूमिका खेल्छ भन्ने मान्यता राख्छु।’ 

परिवार र साथीभाइको प्रोत्साहनपछि फाइब्रोले गति समात्यो। सुरजले पढाइसँगै व्यवसाय बढाउँदै गए।

फाइब्रो सुरू गर्नुको अर्को कारण नेपाली बजारलाई सस्तो मूल्यमा गुणस्तरीय कपडा पुर्‍याउनु हो। सुरजका अनुसार नेपालमा गुणस्तरीय कपडा बनाउने थुप्रै ब्रान्ड छन्। तर सर्वसाधारणलाई किफायती हुने मूल्यका छैनन्।

फाइब्रोका विभिन्न उत्पादन १२ सयदेखि ५ हजार रूपैयाँसम्म पर्छन्। ग्राहकको रूचि ध्यानमा राख्दै यसले ‘कस्टमाइज’ कपडा पनि बनाउँछ। फाइब्रोका कपडा बनाउन प्रयोग हुने कच्चा पदार्थ प्रायः थाइल्यान्ड, ताइवान, चीन, भारत र टर्कीबाट आयात हुँदैछ। भनेजस्तो र आवश्यक नेपाली कपडा उपलब्ध नहुनाले आयात गर्नुपरेको उनी बताउँछन्।

पोहोर लकडाउनमा भने कच्चा पदार्थ आयातमै समस्या पर्‍यो।

‘त्यो बेला हामीले नेपालमै बनेका कच्चा पदार्थबाट कपडा बनायौं,’ सुरज भन्छन्, ‘ती उत्पादन गुणस्तरीय छन्। अहिले यसलाई पनि प्राथमिकतामा राखेका छौं।’ फाइब्रोले कपडासँगै धुने सही तरिका ट्यागमार्फत सिकाउँछ।

सुरजका अनुभवमा हाम्रो बजार निकै फरक छ। वातावरणीय कारणदेखि नेपालीको शारीरिक बनावटका कारण विभिन्न आकार र गुणस्तरका कपडा बिक्री हुन्छन्। मौसमअनुसार कपडा खोज्दै बजार पुग्ने ग्राहक छन्। त्यसैले यहाँ फेसन कहिल्यै नसेलाउने सुरजको विश्वास छ।

फाइब्रोले कुनै नयाँ उत्पादन बजार पुर्‍याउनुअघि कपडाको गुणस्तर लगायत हरेक मानक जाँच गर्ने उनी बताउँछन्। फाइब्रो उत्पादन र बजार विस्तारमा सुरजसँगै ७ जना कर्मचारी सक्रिय छन्। हाल उपत्यकाका विभिन्न कारखानामा उत्पादन हुँदै आए पनि भविष्यमा मात्रा बढाउन आफ्नै कारखाना बनाउने तयारी गरिरहेको सुरजले जानकारी गराए। 

अहिले फाइब्रोका उत्पादन विभिन्न जिल्लामा अनलाइन र पसलबाट बिक्री हुँदैछ। उनीहरू छिट्टै ‘एक्सपेरियन्स स्टोर’ मार्फत कपडा बेच्नेछन्। एक्सपेरियन्स स्टोरअन्तर्गत फाइब्रोले आफ्नो पसल सञ्चालन नगरी विभिन्न स्थानीय पसलमा आफ्ना उत्पादन उपलब्ध गराउने छ। योजनाअनुसार एक्सपेरियन्स स्टोर काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र नेपालगन्जमा रहनेछ।

फाइब्रो अस्ट्रेलिया, अमेरिका, क्यानडा, चीन र युरोपेली राष्ट्रहरू गरी झन्डै ८ देशमा पुगिसकेको सुरज बताउँछन्। 

कुनै पनि व्यवसाय सुरू गर्दा ग्राहकको विश्वास जित्न गाह्रै हुन्छ। सुरजले पनि ती दिन कटाए, जुन बेला आफ्नो उत्पादन बजार पुर्‍याउन हम्मेहम्मे पर्‍यो।

‘इच्छाशक्ति भए जस्तोसुकै परिस्थिति पार लगाउन सकिने रहेछ,’ सुरज सकारात्मक धारणा राख्छन्।

फाइब्रोमा हात हाल्नुअघि सुरजले रेस्टुरेन्ट, प्रविधि र इभेन्ट म्यानेजमेन्टजस्ता काम नआँटेका होइनन्। तर फाइब्रोले उनलाई एक स्तरको व्यावसायिक सफलता दिलायो भन्दा फरक पर्दैन। 

सुरजका अनुसार अहिलेसम्म ग्राहकबाट कपडालाई लिएर गुनासो पाएका छैनन्। 

फाइब्रोले छिट्टै ‘फाइब्रो प्रिमियम’ पनि ल्याउँदैछ। यसअन्तर्गत कपडा बनाउन बढी जनशक्ति र महँगो कच्चा पदार्थ प्रयोग हुने उनले बताए। त्यस्तै अहिले शरीरको माथिल्लो भागका कपडा उत्पादनमा केन्द्रित फाइब्रोले तल्लो भागमा लगाउने पनि उत्पादन गर्ने योजना बनाएको छ।

‘अहिले हाम्रो टोली सानो भएकाले दुवै खालको उत्पादनमा ध्यान पुर्‍याउन सकिरहेका छैनौं,’ सुरज भन्छन्।

२४ वर्षको उमेरमै सुरज आफ्नो ब्रान्ड स्थापित गराउन लागिपरेका छन्। सानैदेखि लजालु र अन्तर्मुखी स्वभावका उनी एसएलसीसम्म पनि आफूमा आत्मविश्वास नभएको बताउँछन्। पछि उनलाई लाग्यो, ‘हामी मध्यम वर्गका मानिसले जे गर्नु छ, आफैं गर्नुपर्छ।’ 

त्यसपछि सुरजले आफैंलाई खोतल्न थालेका हुन्। पढाइ र व्यवसाय सन्तुलित ढंगमा अघि बढाइरहेका उनी अहिले युवा उद्यमी बनिसकेका छन्।

आशावादी हुँदै सुरज भन्छन्, ‘हामीले समयमै राम्रो बजार लिन सक्यौं भने फाइब्रोलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्न सक्नेमा विश्वस्त छु।’

Video Link: https://www.youtube.com/watch?v=0aWdJ2vziVc

Originally covered and published by Setopati on 15/04/2021.

 

Leave a Reply